ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु ५जना घाइते

बैतडी । दार्चुलाको मार्मामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, ५जना घाइते भएका छन् । मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का स्थानीय व्यापारी गणेशसिंह विष्ट रहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।
मार्मा गाउँपालिकाको लटिनाथ बजारबाट खुद्रा सामान बोकेर अपि हिमाल गाउँपालिकाको मकरिगाड जाँदै गरेको से ४ क ४०४७ नम्बरको उक्त ट्याक्टर आज बिहान ९ बजे मार्मा ६ लिस्नामा दुर्घटना भएको प्रहरी निरीक्षक कमल विष्टले बताउनुभयो । दुर्घटनाका घाइतेहरूमा मार्मा २ का १६वर्षीय विकास नेपाली, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली, मार्मा १ का ५३ वर्षीय रामसिंह महर र अपि हिमाल गाउँपालिकाका बिरसिंह लोथ्याल रहेका छन् ।
घाइते सबै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने, मृतकको शव गोकुलेश्वर अस्पतालमा पोस्टमार्टम गरिएको छ । घाइतेहरू मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । चालक कमल लामाको अवस्था भने सामान्य रहेको र उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्