रुपन्देहीमा अर्का कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा निर्माण व्यवसायीको लापरबाहीका कारण कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।
गैडहवा गाउँपालिका वडा नं. ३ धौथनिया निवासी ५३ वर्षीय पुरुषको भैरहवा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
बुटवलमा ज्याला मजदुरीमा काम गर्दै आएका मृतक ३ दिन देखि बिरामी परेको र काम गर्ने क्रममा २ तला माथिको छतबाट खसे पछि बेहोस अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा उपचार गरी टाउकोको सिटी स्क्यान गरिएको थियो ।
सिटी स्क्यान रिपोर्टमा टाउकोमा गम्भीर चोट भएको र थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।
निजलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको भए पनि निर्माण व्यवसायी सैनामैना नगरपालिका कुस्माहका प्रदुमन मलाहले उपचारै नगरी अस्पतालबाटै मृतककै घरमा लगेर छोडिदिएका थिए । १ दिन घरमा बसेपछि उनलाई स्थानीय जनप्रतिनिधि, र समाजसेवीहरूको पहलमा उपचारको लागि उनलाई भैरहवा मेडिकल कलेज पठाइएको थियो ।
निजलाई कलेजको सघन कक्षमा राखेर उपचार गर्नु पर्ने अवस्था भएपछि मेडिकल कलेजले निजको पीसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरी बुटवलको नेसनल प्याथलावमा पठाइएको र पीसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भए पछि निजलाई आइसोलेसन कक्षमा उपचार गर्नेक्रममा गए राती १२ बजे मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनु भएको छ ।
मृतक पुरुषको परिवारमा १८ जना रहेको र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको पीसिआर परीक्षणको लागि बुधवार स्वाब सङ्कलन गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनु भएको छ । वडा नं. ३ को धैथनिया सँग जोडिएका गाउँ तथा क्षेत्रहरूको सिमानाकासम्म सिल गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्