तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभाको संसदीय समितिद्वारा योजनाहरूको निरन्तर अनुगमनमा


बैतडी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले प्रदेश सरकारबाट सञ्चालित योजनाहरूको अनुगमन गरिरहेको जनाएको छ । उक्त समितिसँग सम्बन्धित रहेका मन्त्रालयबाट विनियोजित कार्यक्रमहरूको प्रभावकारिताबारे स्थलगत अनुगमन गरिरहेको आज बैतडीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रेस सङ्गठन जिल्ला शाखा बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद दीर्घ सोडारीले अहिले भइरहेको विकास निर्माणका कारण केही ठाउँमा बिपद निम्तिएकाले सडक निर्माण गर्दा हुनसक्ने सम्भावित प्राकृतिक प्रकोपलाई विशेष ध्यानदिनुपर्ने बताउनुभयो । अहिले क्षतिको अनुमान नगरेरै भइरहेको सडक निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने पत्रकाहरुको सुझावमा यी लगायतका अन्य समस्याहरूबारे सुझाव सङ्कलन गरिरहेको उहाँले बताउनुभयो ।

यस्तै लगातारको वर्षाले निम्त्याएको बिपद प्रभावित परिवारलाई राहत दिइने प्रदेश सांसद प्रेमप्रकाश भट्टले बताउनुभयो । बैतडीको डिलाशैनि गाउँपालिकामा गत साउनमा पहिरोमा परि मृत्यु भएका २ जनाको परिवारलाई प्रदेश सरकारका तर्फबाट १–१ लाख रुपैयाँ राहत प्रदान गर्ने उहाँले बताउनुभयो । यसै गरी अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिसँग सम्बन्धित रहेका पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयबाट भएका कामहरू बारे गुनासो भएमा यस समितिलाई जानकारी गराउन प्रदेश सांसद पूर्णा जोशीले आग्रह गर्नुभयो । अहिले कोरोना भाइरसको कहरका बेला अनुगमन गर्न नहुने समेत गुनासो आइरहेकाले आफूहरू समस्याकै बिचबाट समाधान खोज्ने समितिमा भएकाले जोखिमका बिच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button