तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विशेष अस्पताल निर्माणका लागि साँढे पाँच लाख सहयोग

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पतालमा कोभिड बिशेष अस्पताल निर्माणका लागि रु ५ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका प्रमुख डा.श्यामसुन्दर यादवलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको अध्यक्ष मन्सुरीले बताउनुभयो । कोभिड संकट समाधानका लागि बाँकेका निजी क्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने बताउनुभयो ।

अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड बिशेष अस्पतालका प्रमुख डा.यावदले धन्यवाद दिनुभयो । त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको तर त्यसैमा हौसिने अवस्था नरहेकोले सचेत रहन आग्रह गर्नुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार कोभिड विशेष अस्पताल सहित यसअघि पनि संघले बिभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बाँकेमा प्रहरी प्रमुख ओम राना, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, संघका पदाधिकारी, एशोसिएसट सदस्य एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button