तपाईँ सुन्दै हुनुहुन्छः

पहराको रुखमा अड्किएको सम्झनाको शव प्राप्त, मृतकको सङ्ख्या ८ पुग्यो, ९ जना अझै बेपत्ता

अछाम । अछामको रामारोशन गाउँपालिका ५ सैनीबजारमा भदौ २ गते राती आएको बाढीमा बेपत्ता भएकामध्ये रामारोशन ५ का हिक्मत शाहकी श्रीमती २९ बर्षिया सम्झना शाहको शव फेला परेको छ । मंगलसेन नगरपालिका–३ नजिक पहरामा रुखको जरामा अड्किएको अवस्थामा शव फेला परेको र नेपाली सेनाले शव निकालेका अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो । यो सँगै बेपत्ता १७ मध्ये मृतकको सङ्ख्या ८ पुगेको छ ।

मौसम खराबी तथा अप्ठेरो ठाउँमा शव रहेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी सहितको टोलीको निरन्तरको मेहनतपछि शव झिकेर सनाखत भई पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो । शव फेला परेको र झिक्न कठिनाइ भइरहेको अवस्थामा अछामका प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउने कार्य गरेका थिए ।

कैलाश खोलामा आएको बाढीमा परी सैनीबजारका १७ जना बेपत्ता भएका थिए । अहिलेसम्म शव फेला परेका ८ जनाको नै सनाखत भइसकेको छ ।

बाढीमा परेर बेपत्ता मध्ये अझै ९ जना सम्पर्क विहीन छन् । अहिलेसम्म सैनीबजारका १५ वर्षीय नवीन साउद, ३५ बर्सिया गौरी शाह, २२ बर्सिया बिता बुढा साउँद, ४५ वर्षीय अमर शाह, ४७ बर्सिया लालसरा शाही, ५४ बर्सिया चन्द्र साउद र १९ रुपेश साउदको शव फेला परेको हो । बाढीले स्थानीय नन्दसिंह साउँदको सात जनाको परिवार पुरै बेपत्ता बनेको छ । उनका अहिलेसम्म दुई छोरा र एक बुहारीको मात्र शव फेला परेको छ । नन्दबहादुर सहित पत्नी गङ्गा, बुहारी बिता, छोरा नवीन, रुपेश, नातिनी प्राप्ति, र उनकी सासू आमालाई बाढीले बगाएको हो ।

यसै गरी अम्मर शाह, शाहकी पत्नी पवित्रा, छोरा समीरलाई पनि बाढीले बगाएको छ । चन्द्र साउँद, साउँदकी पत्नी बसु साउँद, अन्य स्थानीयमा गौरी शाह, सम्झना शाह, जोगा साउद, लालसरा शाही र उनका छोरा वसन्त बेपत्ता छन् ।

बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुङ्गे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button