आयल निगमको अमलेखगन्ज डिपोका १६ कर्मचारीमा कोरोना

जनकपुरधाम । प्रदेश २ सहित देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगन्ज डिपो र त्यस मातहतको कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि इन्धनको आपूर्तिमा समस्या हुने भएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नंं २१ अमलेखगन्ज क्षेत्रीय डिपोमा कार्यरत चालक सहित १६ जना सङ्क्रमित भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनु भएको छ । सङ्क्रमणपछि यस क्षेत्रका तेल व्यवसायीहरू आपूर्तिको विषयमा चिन्तित बनेका छन् ।
निगमका सङ्क्रमितमध्ये अधिकांश प्रशासन र निगममा सरसफाइ गर्ने कर्मचारीहरू रहनु भएको छ । निगम तथा मातहतका ८१ जनाको स्वाब सङ्कलन गरी वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उहाहरुको रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमण पुष्टि भएपछि निगमले आफ्ना सङ्क्रमित कर्मचारीहरूलाई पायक पर्ने स्थानीय होटेलको आइसोलेसनमा आइसोलेट गरेको छ ।
सङ्क्रमित कर्मचारीको सम्पूर्ण खर्च निगमले व्यवहोर्ने समेत बताइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले सङ्क्रमणपछि अमलेखगन्ज र वीरगन्ज कार्यालय ७२ घण्टाका लागि सिल गरेको जानकारी दिनु भएको छ ।
काठमाडौँ, पोखरा, जनकपुर, बुटवलसहितका मुख्य सहरमा अमलेखगन्ज डिपोबाट नै डिजेल–पेट्रोल वितरण हुने गरेको छ । १९ सय किलोमिटर पेट्रोल र २० हजार किलोलिटर डिजेल भण्डार क्षमताको डिपो नेपाल–भारत पहिलो पेट्रोलियम पाइप लाइनसँग जोडिएको छ ।
मुख्य आपूर्ति प्रणालीमा नै प्रभाव पर्ने गरी सङ्क्रमित फेला परेपछि निगमले थप मद्दत टोली काठमाडौँबाट पठाउन लागेको छ । डिपो सञ्चालनमा कुनै असर नपरोस् भन्नका लागि १० जनाको टोली काठमाण्डौवाट पठाउन लागिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्