भोजपुरका सवै नाका १५ दिनका लागि बन्द
भोजपुर । भोजपुरको छिमेकी जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको संख्या बढदै गएपछि जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको छ । संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि जिल्लामा संक्रमण भित्रिन सक्ने भएकोले सबै नाकाहरु बन्द गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनु भयो । प्रजिअ पुरीले भन्नु भयो ‘छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण तिब्ररुपमा बढी रहेकाले सबै सिमा नाका प्रवेशमा कडाई गरेका छौं ।’ नाका बन्द गर्ने निर्णय भएसँगै मंगलवारबाट जिल्ला प्रवेशका सवै नाका ठप्प भएका हुन ।
जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनहरुलार्ई नाकामा निर्मलिकरण गरिने निर्णय समेत गरिएको छ । निर्मलीकरणमा लागेको खर्च उद्योग वाणिज्य संघ भोजपुरले व्यवस्था मिलाउने र मालबाहक साधनमा यात्रु ओसार्ने कार्य गरेमा त्यस्तो सवारी साधनलाई यात्रु सहित फिर्ता पठाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ६ देउरालीमा रहेको क्वारेन्टिन स्थलमा २० बेड, पर्यटन सूचना केन्द्र, टक्सारमा १६ बेड, जिल्ला अस्पतालमा १० बेड र अस्पतालको कुरुवा घरमा १४ बेड क्षमताको आइसोलेशन वार्ड समेत बनाइने भएको छ । प्रत्येक स्थानीय तहका स्वास्थ्य केन्द्रमा पाँच ओटा अक्सिजन सिलिण्डर सहितको उपचार व्यवस्था मिलाउने भएको छ ।
अरुण गाउँपालिकाको जरायोटारमा रहेको होल्डिङ्ग सेन्टर व्यवस्थापन तथा भोजपुर धनकुटा जोड्ने एक मात्र लेगुवाघाट स्थत हेल्पडेक्स सञ्चालनलाई निरन्तरता दिनका लागि भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाले १४ लाख र अन्य सात गाउँपालिकाले ५ लाखका दरले रकम संकलन गर्ने तयारी गरेको छ । ती स्थानीय तहले पहिलो किस्ता स्वरुप ४० प्रतिशत रकम तत्काल उपलव्ध गराउने निर्णय भएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्