कोरोना विशेष अस्पतालका आइसियु बेड भरियो

रुपन्देही । दिनहुँ सङ्क्रमित थपिँदै गएपछि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा रहेका आइसियु बेड भरिएका छन् ।
अस्पतालमा १६ वटा आइसियु बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामीले भरिएको र त्यस मध्ये दुई जनाको अवस्था गम्भीर रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले जानकारी दिनुभयो ।
उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनीहरूमध्ये एक जना रुपन्देहीका र अर्का एक जना कपिलवस्तुका हुन् ।
आइसियुमा उपचाररत अन्य छ जनाको अवस्था पनि गम्भीर छ । आठ जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको डा.खनालले बताउनुभयो ।
अरू २१ जना सङ्क्रमितको जनरल वार्डमा राखेर उपचार भइरहेको छ । सङ्क्रमित बिरामीहरूमा ज्वरो, निमोनिया, रुघाखोकी, श्वासप्रश्वासमा समस्याजस्ता लक्षण देखिएका छन् ।
थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि बेड छैन– कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भन्नुभयो– संक्रमण बढ्दो छ हामीसँग बेड छैनन् ।
बुटवलमा बेड भरिएपछि बुटवलभन्दा बाहिर दाङ, बाँके र रुपन्देहीकै भैरहवामा बिरामीहरू भर्ना गर्ने तयारी प्रदेश सरकारले गरेको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले सम्भव भएसम्म आइसियु बेड थप गर्ने र थप बिरामी बढ्दै गए अन्यत्र लैजाने बताउनुभयो ।
प्रदेश ५ सरकारले बुटवल धागो कारखानासहित दाङ, बाँके र भैरहवामा आइसियु कक्ष बनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भीम अस्पताल भैरहवामा ५, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १० र केन्द्रीय संस्कृत विद्या पिठ बेलझुण्डी दाङमा पनि १० वटा आइसियु बेड छन् । बाँके र दाङका आइसियु कक्ष खाली छन् भने भैरहवाको भीम अस्पतालमा जनशक्ति अभाव छ ।








प्रतिक्रिया राख्नुहोस्