तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री र विश्व बैंक, दक्षिण एशिया क्षेत्रका उपाध्यक्षबीच छलफल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच शुक्रबार कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव लगायतका विषयहरुमा छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री खतिवडाले विश्व बैंकबाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्तगर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको समेत उल्लेख गर्नु भयो ।

उहाँले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अर्ब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको समेत जानकारी गराउनु भएको अर्थ मनत्रालयले जनाएको छ ।

विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा ब्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सक्रियतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको र सो अभियानमा अर्थमन्त्रीको सहयोगको लागि अनुरोध गर्नु भयो ।

छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button