अस्पतालभित्रै बित्यो नर्सको तीज
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सहरु अस्पतालभित्रै सन्देशमुलक गीत गाएर यो वषको तीज मनाएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण वर्षदिनमा आउने तीजपर्वलाई जमघट गरी मनाउन नपाएपछि उनीहरुले यसरी मनाएका हुन् ।
५ महिनादेखि कोरोना संक्रमितसंगै नियमित उपचारका लागि आउने विरामीको सेवामा खटिँदा आफ्नो लागि समय निकालेर रमाइलो गर्ने समय उनीहरुले कमैमात्र पाएका छन् ।
शरिरमा गाउन र पीपीईसंगै मुखमा मास्क लगाएर गाइएका तीजका भाकाले अस्पतालको माहोल नै गुञ्जिएको थियो । वर्षदिनमा आउने हरितालिका तीजमा अस्पतालभित्र ड्युटी निभाउँंदै गर्दा सन्देशमुलक भएपनि गीत गाएर सन्देश दिन उनीहरु पछि हटेनन् ।
विगत वर्षका तीजमा आलोपालो गरी माइती जाने नर्सहरुले अहिले भने बिदा पाएनन् । दिनभरी अस्पतालमा विरामीको सेवामा खटिने नर्सहरु कोरोना संक्रमणको जोखिमका कारण नजिकै माईती भएपनि जान पाएनन् ।
परिवारसंगै बसेर दरसमेत खान नपाएका नर्सहरुले गीतमार्फत कोरोनालाई जित्नसके अर्को वर्ष रमाइलो गरेर तीज मनाउला भन्दै सन्देश दिएको प्रादेशिक अस्पतालको नर्सिङ इन्चार्ज ज्योती पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्