तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज हेल्थ केयर र नारायणी अस्पतालमा थप दुई जनाको मृत्यु

फाइल तस्बिर

वीरगञ्ज । अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयर र नारायणी अस्पतालमा गरी थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी कोभिड अस्पताल बीरगन्ज हेल्थ केयरमा उपचाररत बीरगन्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक निवासी ७१ वर्षीय पुरुषको हिजो बिहीबार साँझ मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज सिंहले जानकारी दिनुभयो ।

क्षयरोग, मधुमेह, थाईराइड र उच्च रक्तचापको पुराना रोगी उनमा ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि भदौ २ गते मङ्गलवार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिरामीको स्वाब परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि बुधवार साँझ थप उपचारका लागि बीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको अस्पतालमा हिजो बिहीबार साँझ ७.३० मा मृत्यु भएको डा. सिंहले बताउनुभयो ।

यसै गरी कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरुषको उपचारको क्रममा आज बिहान नारायणी अस्पताल वीरगञ्जको आकास्मीक कक्षमा मृत्यु भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–९ डुमरिया बस्ने ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको डा.सिंहले बताउनुभयो ।

ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शिव दर्शन सेन्ट्रल अस्पताल रौतहटमा उपचार गरिएको थियो । बिरामीको स्थितिमा सुधार नआएपछि अस्पतालले थप उपचारका लागि वीरगञ्ज रिफर गरेको थियो ।

गम्भीर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको र शरीरमा अक्सिजनको मात्रा निकै कम भइसकेको हुँदा उनलाई बचाउन नसकिएको डा.सिंहले बताउनुभयो ।

मृत्युपछि उनको स्वाब सङ्कलन गरिएको र यसको रिपोर्ट आज साँझसम्म आइपुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button