तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको वीरेन्द्रनगरमा चार दिन निषेधाज्ञा थपियो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ ।  जिल्ला स्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले चार दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यही भदौ १ गतेदेखि ५ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप गरेर भदौ ९ गते राति १२ बजेसम्म बढाइएको छ ।

कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ बढिरहेका बेला तीजमा बढी जमघट हुने सम्भावनालाई मध्यनजर गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

प्रशासनले निषेधाज्ञा अवधि थप गरेसँगै वीरेन्द्रनगरमा ज्यालादारी, मजदुरी गरिखाने विपन्नले भने रोगभन्दा भोगले दैनिकी कष्टकर बनाइरहेको बताएका छन् ।

सुर्खेतमा हालसम्म छ सय ७० जना सङ्क्रमित मध्ये पाँच सय ७७ जना निको भएर घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।

पछिल्लो एक सातामा ४६ जना नयाँ सङ्क्रमित थपिएसँगै ९१ जना सक्रिय सङ्क्रमितहरू विभिन्न स्थानका आइसोलेसनमा उपचाररत रहेको जिल्ला जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button