तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक बर्षीय बालक सहित थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७४८

अछाम । अछाममा थप ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बिहीवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरुमा साँफेबगर नगरपालिकाका १५ जना र मेल्लेख गाउँपालिकाका १५ जना रहेका छन् । साँफेबगर नगरपालिकामा संक्रमित मध्ये नगरपालिकाका कर्मचारी बढी रहेका छन् । संक्रमित १५ जनामध्ये नगरपालिकाका कर्मचारी चार जना, संघ संस्थाका कर्मचारी ३ जना, उनीहरुका परिवारका मान्छे २ जना र सर्वसाधारण ६ जना रहेका साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवरले जानकारी दिनुभयो ।

मेल्लेख गाउँपालिकामा एक जना वडा अध्यक्ष सहित १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वडा अध्यक्ष बाहेक अन्य क्वारेन्टिनमा रहेका व्यक्ति भएको कार्यालयले जनाएको छ ।

संक्रमितहरुमा एक वर्ष, दुई वर्ष, तीन बर्ष, छ बर्ष, नौ बर्ष उमेरका बालबालिका सहित ६२ बर्षीय पुरुष सम्म रहेका छन् । साँफेबगर नगरपालिका वडा नम्बर ४, ५ र ७ तथा मेल्लेख गाउँपालिका वडा नम्बर ६ र ७ का रहेका छन् । अछाममा समुदायमा कोरोना भाईरस संक्रमितको संख्या ३० जना बढी रहेको पाईएको छ ।

यो संगै अछाम जिल्लामा कोरोना संक्रमितको संख्या सात सय ४८ पुगेको छ । जसमा पुरुष पाँच सय ९७ र महिला एक सय ५१ रहेका छन् । संक्रमितमध्ये सात सय पाँच जना निको भई घर फर्किसकेका छन् । हाल सक्रिय संक्रमित ४३ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । स्वाब संकलन गरि पठाएका मध्ये ८ सय बढीको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button