जनश्रमदान घटाउँदा योजना कार्यान्वयन प्रभावकारी

पाल्पा । तानसेन नगरपालिकाले योजना कार्यान्वयनमा २० प्रतिशत जनश्रमदान घटाएर १० प्रतिशत बनाएपछी योजना कार्यान्वयन प्रभावकारी भएको छ ।
अनिवार्य २० प्रतिशत जनश्रमदानले योजना कार्यान्वयन गर्न उपभोक्ताहरुलाई अप्ठेरो भएपछी नगरपालिकाले १० प्रतिशत घटाएको थियो । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विकास निर्माणका योजनामा १० प्रतिशत जनश्रमदान हुने निर्णय गरेपछी योजना कार्यान्वयन प्रभावकारी बनेको बताए ।
श्रमदान गर्न र पैसा उठाउन नसक्ने समस्याले प्राविधिक मुल्याङ्कन कम आउने भएकाले उपभोक्ताहरुलाई गाह्रो भएपछी श्रमदानको प्रतिशत घटाएको उनले बताए । “पुरै हटाउन भने सकिँदैन, उपभोक्ताहरुको लगानीले थप योजनाको दिगोपना बढ्छ ।” शाहीले भने ।
तानसेन नगरपालिका वडा नं. ८ को सार्वजनिक शौचालय निर्माण समितिका अध्यक्ष हरि बहादुर थापाले श्रमदान १० प्रतिशत हुँदा उपभोक्ता समितिलाई काम गर्न सहज भएको बताए । “पहिले २० प्रतिशत हुँदा निकै दुख भएको थियो ।” उनले भने । “अहिले सहज भएको छ ।”
तानसेन नगरपालिकाले तीन किसिमले योजना सञ्चालन गर्ने गरेको छ । ठेक्का, कोटेशन र उपभोक्ता मार्फत योजना कार्यान्वयन गर्ने गरेको तानसेन नगरपालिकाका शाखा अधिकृत भरत आचार्यले बताए । १० प्रतिशत जनश्रमदान आवश्यक हुने निर्णय गरेपछी ९८ प्रतिशत उपभोक्ताहरुले सहजै योजना कार्यान्वयन गरेको उनले बताए । “उपभोक्ता समिति मार्फत काम गराउँदा उपभोक्ताको समय, श्रम र पैसा समेत लगानी हुँदा उपभोक्तालाई योजनाको माया हुन्छ ।” उनले भने । “केही न केही भए पनी जनश्रमदान आवश्यक हुन्छ ।”








प्रतिक्रिया राख्नुहोस्