तपाईँ सुन्दै हुनुहुन्छः

गौरीशङ्कर संरक्षण क्षेत्रको १० वर्षका १० उपलब्धि


दोलखा । दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रका साबिकका २२ वटा गाविस (हाल २ नगरपालिका र ८ गाउँपालिकाका २५ वटा वडाहरू) समेटेर २०६६ सालमा घोषणा गरिएको गौरीशङ्कर संरक्षण क्षेत्रले स्थापनाको १० वर्षमा गरेको १० उपलब्धि सार्वजनिक गरेको छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रले १० वर्षको अवधिमा मुख्यतः भौतिक पूर्वाधार निर्माण, समिति तथा उपसमिति गठन र कार्य योजना हस्तान्तरण, राहत तथा पुनर्निर्माण सहयोग, वैकल्पिक इन्धन, संरक्षित शिक्षा, पर्यटन प्रवर्द्धन, सरसफाइ तथा स्वच्छता अभियान, आयआर्जनमा सहयोग, अध्ययन तथा अनुसन्धान र जनचेतना तथा क्षमता अभिवृद्धि जस्ता १० वटा उपलब्धि हासिल गरेको संरक्षण प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।

संरक्षण क्षेत्रको भौतिक पूर्वाधार तर्फ दोलखाको विगु गाउँपालिका स्थित सिंगटी बजारमा प्रधान कार्यालय स्थापना, रामेछापको शिवालय र सिन्धुपाल्चोकको चाकुमा इलाका संरक्षण कार्यालय स्थापना, दोलखाको सिंगटी र कालिन्चोक, सिन्धुपाल्चोकको चाकु र रामेछापको शिवालयमा पर्यटन सूचना केन्द्र तथा जाँच चौकी स्थापना गरिएको कार्यालयले जनाएको छ ।

संरक्षण क्षेत्र भित्र पर्ने तीन जिल्लाको साबिकको २२ गाविसमा संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन गरिएको र समिति अन्तर्गत ८७ वटा संरक्षण बन उपभोक्ता समिति गठन गरिएको जनाइएको छ । १५ वटा व्यवस्थापन समितिको आफ्नै भवन समेत रहेको संरक्षण प्रमुख शाहले बताउनु भयो । गौरीशङ्कर संरक्षण क्षेत्रले जङ्गली वन्यजन्तुले आक्रमण गरी घाइते बनाएको १९ जना मानिस र १४९ वटा घर पालुवा जनावरको क्षतिपूर्ति बापत १४ लाख ४९ हजार २९ रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको शाहले बताउनु भयो ।

त्यसै गरी गौरीशङ्कर संरक्षण क्षेत्रले २५ वटा विद्यालयमा संरक्षण शिक्षा लागु गरेको, विद्युतिकरणको लागि काठको पोल विस्थापित गर्दै दुई हजार एक सय ४२ वटा फलामे पोल वितरण गरेको, ५४ किलोमिटर पर्यटन पदमार्ग मर्मत गरेको, पाँच सय तीन वटा सूचना बोर्ड राखिएको र ९४ घरमा होमस्टे सञ्चालनको लागि सहयोग गरेको आयोजना प्रमुख शाहले बताउनु भयो ।

संरक्षण क्षेत्रले सरसफाइको लागि ३५ ठाउँमा खानेपानी मर्मत, ठुला तथा साना गरी ३७ वटा खानेपानीको ट्याङ्की वितरण, नौ सय ४८ घर धुरीमा नमुना शौचालय निर्माण र फोहर व्यवस्थापनको लागि एक सय सात वटा इन्सिनेरेटर निर्माण गरिएको आयोजनाले जनाएको छ । आयआर्जनको लागि किसानहरूलाई तरकारी तथा फलफूलको बिरुवा वितरण, ६२ घार मौरी वितरण, १८ वटा हरित उद्यम स्थापना र कोसेली घरको निर्माण समेत गरिएको जनाइएको छ ।

आयोजनाले रोल्वालिङ तथा लप्चि क्षेत्रमा क्यामेरा ट्रयापिङको माध्यमबाट विश्वमै दुर्लभ हिम चितुवा, हाब्रे सहितका आठ वटा वन्यजन्तु रहेको पहिचान गरिएको तथा जनचेतना अभिबृद्धिको लागि जिल्लाबाट प्रशारणमा रहेका रेडियोहरूबाट गौरीशङ्कर दर्पण रेडियो कार्यक्रम प्रसारण तथा वार्षिक मुख पत्र गौरीशङ्कर दर्पणको प्रकाशन समेत गरिएको आयोजना प्रमुख शाहले बताउनु भयो ।

दश वर्षको अवधिमा आयोजनालाई तीन वटै जिल्लाको राजनीतिक दल, सरकारी एवं गैर सरकारी निकाय, सञ्चारकर्मी, अधिकारकर्मी र सर्वसाधारण सबैले सहयोग गरेको पनि आयोजनाले जनाएका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button