कोरोनाबारे सचेत गराउँदै टोल टोलमा प्रहरी प्रशासन

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा जिल्ला प्रशासन र प्रहरीले कोरोनाबाट सजग गराउन टोल टोलमा माइकिङ गरेको छ ।
भदौ १ गतेबाट जुम्लामा निषेधाज्ञा जारी गरेसँगै सङ्क्रमणबाट बच्न, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन नागरिकलाई माइकिङमार्फत सचेत गराइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
उहाँका अनुसार “जुम्ला बजारको कालेखोली, वियनगर, अस्पताल रोड र एयरपोर्ट, बसपार्कलगायतका सबै टोलमा प्रहरी, सशस्त्र प्रहरी, डिएसपीसहितको टोलीले माइकिङमार्फत सचेत गराइरहेका छन् ।”
जिल्लामा निषेधाज्ञा जारी भए पनि तीज विशेष कार्यक्रमहरू भइरहेको, सावधानी नअपनाएर मालसामान किनबेच गर्ने, हिँडडुल गर्ने क्रम बढेपछि पहिलो चरण अन्तर्गत टोल टोलमा सचेतना अभियान सुरु गरिएको प्रजिअ थापाले जानकारी दिनुभयो । चोक चोकमा माइकिङ गरेर अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेका छौ उहाँले भन्नुभयो ।
डिएसपी लाल बहादुर धामीले भन्नुभयो,“ निर्देशनको अटेरी गरेको खण्डमा संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम कारबाही गरिने छ ।”
दोस्रो चरणका अभियानमा निषेधाज्ञाको पालना नगर्ने जोसुकैलाई सिधै कारबाही गरिने समेत उहाँले बताउनुभयो ।
नागरिकले पछिल्लो समय कोरोना सङ्क्रमणलाई सामान्य रूपमा लिएको र निर्णय निर्देशनलाई पालना नगरेका कारण संक्रमण फैलिने खतरा बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
जुम्लाका आठै स्थानीय तहबाट जिल्ला जनस्वास्थ्य कार्यालयको टोली पुगेर स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको तयारी भइरहेको प्रतिष्ठानका डा.धिरज गुरुङले बताउनुभयो ।
त्यस्तै सङ्क्रमणको शङ्का लागेका १० जना पत्रकारहरूको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि दिइएको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नेत्र शाहीले जानकारी दिनुभयो ।

माक्स नलगाउनबाट २५ हजार जरिवाना सङ्कलन
भदौ १ गतेबाट जुम्लामा जारी निषेधाज्ञाकै बिच निषेधाज्ञाको पालना नगर्ने १९ वटा सवारी कारबाहीमा परेको डिएसपी धामीले जानकारी दिनुभयो ।
त्यसमा १४ मोटरसाइकल र बाकी ट्याक्टर, अटोरिक्सा रहेका छन् । अघिल्लो पटक गरिएको लकडाउनभन्दा पनि आजभोलि निकै कडाइ भएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।
साथै कोरोना संक्रमण रोकथामका लागि जुम्लामा जारी निषेधाज्ञाको पालना नगर्ने दुई सय ५३ नागरिकबाट जरिवाना स्वरूप २५ हजार बढी रकम सङ्कलन भएको छ ।
जुम्ला सदरमुकामका विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको पालना नगर्ने, मास्क प्रयोग नगर्ने, सामाजिक दुरी कायम नगर्ने दुई सय ५३ जना नागरिकबाट २५ हजार तीन सय जरिवाना सङ्कलन भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्