मृत्यु भएका सप्तरीका युवकमा कोरोना सङ्क्रमण पुष्टि

राजविराज । धरानमा मङ्गलवार मृत्यु भएका सप्तरीका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् ।
ज्वरो आएको र श्वास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केही बेरमै मङ्गलवार दिउँसो उनको मृत्यु भएको थियो ।
ती युवकको शव राजविराज ल्याइएपछि स्वाब सङ्कलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधवार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो । सप्तरीमा यी युवकसँगै कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
यसअघि राजविराज नगरपालिका वडा नम्बर ६ का दुई जना र रुपनी गाउँपालिका ५ का एक जना पुरुषको मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्