तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीको हरिपुर नगरपालिका १५ दिनसम्मको लागि सिल

 

सर्लाही । सर्लाहीका हरिपुर नगरपालिका १५ दिनसम्मको लागि सिल गर्ने भएको छ ।

हरिपुर नगरपालिकामा कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनसम्मको लागि पूर्ण रूपमा सिल जनाएको हो ।

नगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै नगर भित्रका अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरू १५ दिनसम्मको लागि बन्द गर्ने निर्णय गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

हरिपुरमा मङ्गलवार २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमितहरू सबै समुदायकै व्यक्ति तथा कर्मचारी र जनप्रतिनिधि रहेको हुँदा नगरपालिकालाई १५ दिनसम्मको लागि सिल गर्नु परेको प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो ।

नगरपालिकाले नगर क्षेत्र भित्र थप संक्रमण फैलिन नदिन औषधी र ग्यास बाहेकका अन्य सबै प्रकारका पसलहरू, दैनिक तथा साप्ताहिक रूपमा लाग्ने हाट बजारहरू, बैङ्क तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीका शाखा तथा उपशाखा कार्यलयहरु, सबै प्रकारका उद्योग तथा कलकारखानाहरू, अत्यावश्यक बाहेक सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू र कार्यालयहरूबाट उपलब्ध हुने सेवाहरू हरिपुर नगरपालिका क्षेत्रभित्र भदौ २ गतेदेखि लागु हुने गरी भदौ १७ गतेसम्म १५ दिनको लागि पूर्ण रूपमा बन्द गरिएको अधिकृत देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै यसअघि लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, कविलासी नगरपालिका, गोडैता नगरपालिका, मलंगवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले पनि अत्आवश्य सेवा बाहेक आ–आफ्नो पालिका पूर्ण रूपले बन्द गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button