कृषि फर्ममा बाढी पस्दा आठ लाख बराबरको क्षति, माछा र कुखुरा बगायो

सल्यान । भारी वर्षापछि मङ्गलवार राती आएको बाढीले श्रीनगरमा रहेको समृद्धि पशुपक्षी तथा कृषि फर्ममा पस्दा आठ लाख बराबरको क्षति भएको छ ।
सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा बाढी पस्दा माछा, कुखुरा नष्ट हुँदा आठ लाखभन्दा बढीको क्षति भएको हो ।
बाढीले पोखरीमा रहेका चार हजार माछाका भुरा, पाँच सय ५० कुखुरा र १५ बोरा कुखुराको दाना बगाएको सञ्चालक हिमाल यात्रीले बताउनुभयो । भगवती खोलाले बर्षेनी क्षति पुर्यााउदा पनि रोकथाम गर्ने तर्फ कुनै निकायले ध्यान नदिएको उहाँले बताउनुभयो ।
त्यसै गरी गएरातीका वर्षापछि आएको बाढीले बगाउँदा बनगाड कुपिण्डेको सल्ली चौरजहारी सडक खण्डको नाथेखोलामा पुलमा काम गर्दै आइरहेका फिल्ड सुपरभाइजर दिलिप खत्री अझै बेपत्ता रहेका छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
वर्षाले जिल्लाका विभिन्न स्थानका दर्जन बढी घरमा क्षति पुगेको र क्षतिको सम्पूर्ण विवरण भोलिसम्म आउने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्