जाजरकोटमा बाढीले वडा कार्यालय बगायो, एक सय ५० घर जोखिममा

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको छ ।
जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडा अध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो ।
वडा कार्यालय सुरक्षित स्थानमा सार्न यसअघि आफूले पहल गरे पनि अपायक पर्ने भन्दै केही स्थानीयले गरेको अवरोधका कारण अहिले क्षति बेहोर्नु गरेको वडा अध्यक्ष थापाको भनाई छ ।

यस्तै भीषण वर्षाका कारण वडा नम्बर ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब एक सय ५० घर पहिरोको जोखिममा रहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
केही घर चर्किएका छन् । पहिरोको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
बाढीले कटान गरेपछि सयौँ बिगाहा खेत बगरमा परिणत हुनुका साथै दर्जनौँ पानी घट्ट पनि बगाएको छ ।

पहिरो खसेपछि शिवालय जोड्ने छेडा–कचाली सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका कर्मचारी विवेक शाहीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्