दैलेखमा पहिरोले पुरिएर एक बालकको मृत्यु, दुई बेपत्ता

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा गए राति पहिरोले पुरिएर १२ वर्षीय बालक जनक कठायतको ज्यान गएको छ । दुई फरक ठाउँमा गएको पहिरोमा परि दुई जना वेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीका अनुसार ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँका ११ वर्षीय लोकेश कठायत र भगवतीमाई गाउँपालिका–५ कट्टीमा गएको पहिरोले घर बगाउँदा ६६ वर्षीय बलबहादुर रावत वेपत्ता भएका हुन् ।
गैरागाउँमा ठाँटीकाँधको प्रहरी टोली र कट्टीमा बेस्तडा प्रहरी चौकीको टोली घटनास्थल तर्फ गैसकेकोले थप विवरण लिन बाँकी रहेको प्रहरी नायव उपरीक्षक ओलीले बताउनुभयो । गैरागाउँमा गएको पहिरोले ७ घर बगाएको छ । पहिरोमा परी एकै घरका ४ जना सहित ६ जना घाइतेहरुको उद्धार गरिएको र बेपत्ताको खोजी तथा प्रभावित परिवारहरुको व्यवस्थापनको काम भइरहेको ठाँटीकाँध गाउँपालिका ४ का वडाध्यक्ष रमेश सिजापतीले जानकारी दिनुभयो ।
राति पहिरो गएको जानकारी पाए लगतै स्थानीयले गैरागाउँका विभिन्न स्थानबाट ७६ जना उद्धार गरिएका मध्ये ६ जना घाइते अवस्थामा छन् । ४२ वर्षीय टीका कठायत, ४० वर्षीया धनसरा कठायत, १७ वर्षीया वेल कठायत, १५ वर्षीय सम्शेर कठायत, ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षका गम्म नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको ठाँँटीकाँध गाउँपालिकाका कार्यपालिका सदस्य पदमबहादुर बिकले जानकारी दिनुभयो ।
ठाँटिकाँध गाउँपालिका ४ मा साथिसँग सुत्न गएका ११ वर्षिय लोकेश कठायत पहिरो जाँदा भाग्न खोज्दा वेपत्ता भएको वडाध्यक्ष सिजापतिले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्