कोरोना नियन्त्रणमा सिन्धुपाल्चोकमा आठ करोड २१ लाख रुपैयाँभन्दा बढी खर्च
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तहले कोभिड–१९ का लागि आठ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन् ।
मेलम्ची नगरपालिकाले एक करोड ६० लाख खर्च गरेको छ । त्यहा ३० बेडको क्वारेन्टाइन र १० बेडको आइसोलेसन छ । चार स्थानीय तहको केन्द्र भएकोले आइसोलेसन र क्वारेन्टाइनमा बढी खर्च भएको मेयर डम्बरबहादुर अर्यालले बताउनुभयो । पाँचपोखरी थाम्पाल गाउँपालिकाले एक करोड खर्च गरेको छ । त्यहाँ ७० बेडको क्वारेन्टाइन छ । हेलम्बु गाउँपालिकाले २२ लाख ६७ हजार खर्च गरेको छ । ५० बेडको क्वारेन्टाइन छ ।
त्यसैगरी इन्द्रावती गाउँपालिकाले ६७ लाख, चौतारा साँगाचोकगढी नगरपालिकाले ९३ लाख, जुगल गाउँपालिकाले ६६ लाख, बलेफीले ३५ लाख, सुनकोसीले ६० लाख, लिसंखुपाखरले ३७ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले ३० लाख, बाह्रबिसे नगरपालिकाले ७० लाख र भोटेकोसी गाउँपालिकाले ८० लाख खर्च गरेका छन् ।
भोटेकोसी, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिकामा कोही पनि संक्रमित छैनन् । बाह्रबिसे नगरमा दुईको मृत्यु भयो । तर, नगरपालिकाले खर्च गर्नुपरेन । जुगल गाउँपालिकाले जम्मा ६६ लाख खर्च गरेकोमध्ये ३४ लाख खाद्यान्न किनेर वितरण गरेको भनिएको छ ।
सबै स्थानीय सरकारले विपन्नलाई खाद्यान्न वितरण गरेको भनेर आधाभन्दा बढी रकम देखाएका छन् ।
हालसम्म जिल्लामा ८३ जना कोरोना संक्रमित भए । ती सबै बाहिरबाट आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्