अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टचार भेट

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेका बताउँदै भन्नुभयो, विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजिमा लागिरहेका छन्। हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ ।

सो अवसरमा उहाँले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताउनुभयो ।
नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय(समयमा हुँदै आएका भ्रमणको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दुई मुलुकको हित प्रबर्द्धन हुने गरी द्विपक्षीय र बहुपक्षीय तहमा साझेदारी आवश्यक रहेको बताउँदै नेपालमा विशेषगरी उर्जा, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा व्यापार र लगानीको पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

भेटका क्रममा राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।
रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ । नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ, राजदूत नोभिकभले भन्नुभयो ।
उहाँले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाडौं(मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राख्नुभयो । दुई देशको इच्छाशक्ति भयो भने साझेदारीका थुप्रै क्षेत्र छन्,उहाँले भन्नुभयो, नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल बिस्तारको योजना ल्याएको छ, यसमा रसिया सरकार आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार छ ।
राजदूत नोभिकभले रसियाको रक्षा तथा परराष्ट्र मन्त्री र संसदीय नेतृत्वको नेपाल भ्रमणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्