तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा युरिया मलको अभाव

पर्वत । पर्वतमा युरिया मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र मुख्य डिपोमा पनि भण्डारण नभएकोले मलको चरम अभाव भएको कृषि सामाग्री केन्द्र पर्वतले जनाएको छ । मकै छर्ने बेलामा सहकारी मार्फत रासायनिक मल पाएका किसानले धानमा भने मल राख्न पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल पाउन छाडेको छ । बजारमा किन्न जाँदा पनि पाइँदैन । रोपेको धानमा युरिया मल छर्नै नपाउँदा बोट पहेँलो भएर मर्न लागेको शंकर पोखरीका कृषक कमल भुसालले बताउनुभयो ।

कोरोनाका कारण बाली लगाउँदा देखि नै समस्या भोग्दै आएका किसानले सलहको समस्या समेत भोगे । अहिले फेरि मलको समस्या सुरु भएको छ । धानमा मल छर्न नपाएकाले किसान बाली घट्ने चिन्तामा छन् ।

लकडाउनको बेला पनि किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामाग्री केन्द्रमा अहिले युरिया नै छैन । केन्द्रका प्रमुख नारायणप्रसाद शर्माले वीरगन्ज स्थित डिपोमै मल नै नभएको कारण पर्वतमा आपूर्ति हुन नसकेको बताउनुभयो । उहाँले साउनदेखि नै निरन्तर रूपमा माग गरे पनि भारतबाटै आपूर्ति रोकिएको हुनाले मुख्य डिपो रित्तिएको सुनाउनुभयो ।

पर्वत स्थित कृषि सामाग्री केन्द्रले वैशाख, जेठ र असारमा ५४३ टन मल वितरण गरेको छ । यसमा युरिया ३३९.८ टन र डिएपी १४१.१५० टन वितरण गरेको थियो । विभिन्न कृषि सहकारी मार्फत केन्द्रले मल विक्री वितरण गर्दै आएको छ ।

जिल्लामा मल नपाएपछि कतिपयले भारतीय सीमानाका बाट समेत खरिद गरेर छरेका छन् । तर अहिले नाकामा कडाइ र पुनः बन्दाबन्दी सुरु भएपछि भारतीय बजारबाट समेत मल ल्याउन सहज छैन । बजारमा युरिया अभाव भइरहेको बेला अमुनियम सल्फेट प्रयोग गर्न थालिएको छ ।

बजारमा एग्रोभेटहरुले युरिया नपाइएपछि अमुनियम सल्फेट किसानलाई विक्री गर्न थालेका छन् । कृषि प्राविधिकका अनुसार युरियामा भन्दा आमुनियम सल्फेटमा नाइट्रोजनको मात्रा आधा कम हुन्छ । युरिया भन्दा यो महँगो समेत पर्छ । मात्रा मिलाएर छर्न नजान्दा कतिपय किसानको लगानी खेर गएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।

युरिया एक किलो छर्ने ठाउँमा अमुनियम सल्फेट दुई किलो छर्नुपर्छ,’ रेग्मीले भन्नुभयो,‘ किसानले मात्रा बढाउने सल्लाह नपाउँदा अमुनियम सल्फेट बेकामे भएको गुनासो सुन्ने गरिएको छ ।’ अनुकूल मौसमका कारण यस वर्ष धान उत्पादन बढ्ने ज्ञान केन्द्रको अनुमान थियो । तर, मलको अभावले अनुमान गरेअनुसार उत्पादन बढ्ने देखिन्न । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा रहेको करीब २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button