तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय बैतडीमा अडियो नागरिक बडापत्र

 बैतडी । मालपोत कार्यालय बैतडीले अडियो नागरिक बडापत्र मार्फत सेवाग्राहीहरूलाई कार्यालयका सेवाका बारेमा जानकारी दिन थालेको छ । मालपोत कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सबै नागरिकले थाहा पाउन भनेर अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याइएको हो ।

कार्यालयले दिने सेवाका बारेमा अडियो नोटिस बोर्डले स्थानियभाषा र नेपाली भाषामा जानकारी दिने गरेको मालपोत कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले जानकारी दिनुभयो ।

कार्यालयले अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि निरक्षर सेवाग्राहीहरूलाई पनि सजिलो भएको जिल्ला मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले जानकारी दिनुभयो । मालपोत कार्यालयले नामसारी, अंशबन्डा, रजिस्ट्रेसन, रोक्का, फुकुवा लगायतका सेवा दिने गरेको छ । यस्तै कार्यालयले दान पत्र, हालको बकस पत्र, शेषपछिको बकस पत्र, दाखिला, खारेज, संशोधन लगायतका सेवाहरू दिने गरेको छ । यी सबै सेवाहरूका बारेमा अडियो नागरिक बडापत्र मार्फत जानकारी दिन थालिएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

मालपोत कार्यालयले सोमबार अडियो नागरिक बडापत्र राखेको हो । जिल्ला स्थित सबै सरकारी कार्यालयहरूलाई अडियो नागरिक बडापत्र राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । उक्त नागरिक बडापत्र स्थानीय भाषामा भएकाले सबैलाई सेवाबारे बुझ्न सजिलो भएको दशरथचन्द नगरपालिका–४ जर्गका देवराम लोहारले बताउनुभयो ।
जिल्लामा अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याउने जिल्ला मालपोत कार्यालय पहिलो कार्यालय बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button