लिदीमा ज्यान गुमाएका परिवारलाई सहयोग
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले जुगल गाउँपालिको लिदीमा भएको पहिरो घटनामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
नगरपालिकाले आज प्रेस वक्तव्य जारी गरेर पहिरो पीडितलाई राहत प्रदान गरिने घोषणा गरेको हो ।
नगर प्रमुख निमफुञ्जो शेर्पाद्वारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ –“सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते बिहान आएको पहिरोमा परी २२ जनाको मृत्यु,१७ बेपत्ता र सयौँ स्थानीय पहिरोपछि विस्थापित भएका छन् । पहिरोमा परेर दुःखद मृत्युवरण गर्ने सम्पूर्णमा हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । बेपत्ताहरू छिटो खोजबिन र बेपत्ताहरूको शीघ्र खोजबिनका लागि पनि हामी सबैमा अनुरोध गर्दछौ ।”
सिन्धुपाल्चोक अहिले बाढी पहिरोको चपेटामा छ,बाढी पहिरो बाट सिन्धुपाल्चोकका सबै स्थानीय सरकार यति बेला प्रभावित भएका छन् । बाह्रबिसे नगरपालिकामा पनि असार २४ गते आएको बाढी पहिरोले बाह्रबिसे नगरपालिका–५ जम्बुमा एउटा बस्ती नै पुर्दा १६ अझै बेपत्ता छन् भने दुई जनाको दुःखद निधन भएको थियो ।
जुगलको यो प्राकृतिक विपत्तिमा हामी पनि सँगै छौ,हामी जुगलका पहिरो पीडितहरूलाई बाह्रबिसे नगरपालिकाको तर्फबाट २,५०,०००।–(दुई लाख पचास हजार) सहयोग गर्ने घोषणा गर्दछौ । यति ठुलो विपत्तिमा यो रकम थोरै हो,तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौ भन्ने अनुभूतिका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौ ।
भूकम्पपछि कमजोर भू बनोट भएको सिन्धुपाल्चोक जिल्लाका पहाडी बस्तीहरूमा वर्षेनी यस्ता विपत्तिबाट धेरै जनधनको क्षति भइरहेको छ । स्थानीय सरकारले मात्रै यस्ता समस्या समाधान गर्न सक्दैन,त्यसैले प्रदेश र केन्द्र सरकारलाई पनि हामी यस्ता कमजोर भू बनोट भएको क्षेत्रको पहिचान गरी स्थानीयलाई सुरक्षित स्थानमा राख्ने व्यवस्थाका लागि हामी जोडदार माग गर्दछौ ।
नगर प्रमुख शेर्पाले उक्त रकम केही दिनमै जुगल गाउँपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो । त्यस्तै चौतारा सांगाचोकगढी नगरपालिकाले दुई लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख आमान सिङ तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्