तपाईँ सुन्दै हुनुहुन्छः

फुङलिङ नगरपालिकाले खानेपानी प्रशोधन केन्द्र निमार्ण गर्ने

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले पहिलो पटक खानेपानी प्रशोधन केन्द्र निमार्णको तयारी गरेको छ । नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि प्रशोधन केन्द्र परियोजनाको तयारी थालिएको हो ।

फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउने गरी दैनिक १६ लाख लिटर पानी प्रशोधन गर्ने क्षमताको परियोजना सुरु गर्न लागिएको हो ।

हाल ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत नगरपालिकाका वडा १ देखि ८ वडामा विभिन्न ११ वटा रिजर्भ ट्याङ्कीमार्फत दैनिक १२ लाख ६० हजार लिटर पानी वितरण गदै आएको छ ।

सदरमुकाम समेत रहेको नगरले एक हजार आठ सय २७ वटा घरमा धारा जडान गरी उपभोक्तालाई सुविधा दिँदै आएको उपभोक्ता समितिका अध्यक्ष कमल गुरागाईले जानकारी दिनुभयो ।

समितिले उपभोक्ताको घर–घरसम्म पाइप तथा धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराउँदै आएको भए पनि बर्खा सिजनमा पानी धमिलो र मैलो हुने भएकाले स्वच्छ पानीका लागि प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाइएको समेत अध्यक्ष गुरागाईले जानकारी दिनुभयो ।

नगरपालिकाको ताक्मेडाँडा नर्सरी क्षेत्रमा उच्च प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाएको हो । अहिले उपभोग गरिँदै आएको पानीको मुहानमा वर्षा सिजनमा फोहोर मैला हुने समस्या रहेकाले मैलो÷धमिलो पानीलाई फिल्टर गरेर स्वच्छ बनाउने गरी उक्त प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको अध्यक्ष गुरागाईंले जानकारी दिनुभयो ।

हाल प्रशोधन केन्द्र परियोजना निर्माणका लागि उपयुक्त र आवश्यक जग्गा उपलब्ध भएमा सङ्घीय सरकार अन्तर्गत खानेपानी तथा व्यवस्थापन आयोजना इलाममार्फत चालू आवदेखि नै योजना स्वीकृत भई बजेटसमेत व्यवस्था भएर निर्माणको कार्य सुरु हुने छ ।

ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत हालसम्म फुङलिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङ क्षेत्रका विभिन्न ६ वटा मुहान र पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका दुई वटा मुहानको पानी उपभोक्तालाई वितरण हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button