तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एकै परिवारका चारसहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा आइतबार एकै परिवारका चारसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिका–१ रत्यौलीमा आइतबार एकै परिवारका चार जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

गत शुक्रवार व्यास–१ रत्यौलीकी ६९ वर्षीय वृद्धामा कोरोना पुष्टि भएपछि उनकै परिवारका सदस्यहरूको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतिले बताउनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा नौ वर्षीय बालक, १३ वर्षीया बालिका, ४० वर्षीय पुरुष र ३६ वर्षीय महिला रहेका छन् भने सङ्क्रमित दुई जना नेपाल प्रहरीमा कार्यरत छन् ।

वृद्धाका छोरा जिल्ला प्रहरी कार्यालय लमजुङ र बुहारी जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत रहेका छन् ।

वृद्धामा कोरोना पुष्टि भएसँगै उनका परिवारका सात जना सदस्यको कोरोना परीक्षण गरिएको थियो । सात जनामध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको हो भने अन्य तीन जनाको रिपोर्ट नेगेटिभ आएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

यस्तै, वृद्धामा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङमार्फत एक सय दुई जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको व्यास नगरपालिकाले जनाएको छ ।

जसमा जिल्ला प्रहरी कार्यालय तनहुँ, जनप्रतिनिधि, सङ्क्रमितको टोलका स्थानीय लगायत रहेका छन् ।

वृद्ध पोखरा जानुअघि दमौलीको एपोलो हस्पिटलमा स्वास्थ्य परीक्षणमा गएको हुँदा हस्पिटलका तीन जनाको स्वाब सङ्कलन गरिएको छ ।

रतौली टोलका सङ्क्रमितका पारिवारिक सदस्य घरमै बेग्लै बसेका छन् । थप संक्रमण फैलन नदिनका लागि आफूहरूले टोल सिल गर्ने वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।

त्यस्तै आइतबार नै जिल्लाको भानु नगरपालिका–४ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुने पुरुष नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो ।

हालसम्म जिल्लामा दुई सय १८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकोमा एक सय ८० जना निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button