बैतडीमा गौरा र तीजपर्व मनाउन रोक

बैतडी । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि बैतडीमा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ । तीज, गौरा जस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णय अनुसार भिडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
नित्यपूजा र घरायसी पूजा बाहेक सामूहिक रुपमा गौरा, तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रुपमा चाडपर्व मनाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । यस्ता पर्वहरुलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
यस्तै जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिम लगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको उहाँले बताउनुभयो । यसैगरी भारत अथवा तेश्रो मुलुकबाट फर्केका नागरिकलाई अनिवार्य स्थानीय तहको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
यस्तै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा संक्रमणको दर हेरर लकडाउन गर्न सक्ने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आएमा सो कार्य कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
यस्तै कोभिड १९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सेवा, सुरक्षा र सार्वजनिक सेवा प्रवाहका लागि फ्रन्टलाइनमा काम गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतको पीसीआर परीक्षण गर्ने निर्णय समेत भएको छ ।








प्रतिक्रिया राख्नुहोस्