तपाईँ सुन्दै हुनुहुन्छः

आँखाको उपचारका लागि अस्पतालसँग नगरपालिकाको सहकार्य


कञ्चनपुर । भीमदत्त नगरपालिकाले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र विपन्नको आँखा उपचारका लागि गेटा आँखा अस्पतालसित सहकार्य गर्ने भएको छ । नगरपालिका कार्यपालिकाको ४९ बैठकले आँखाको उपचारका लागि अस्पतालसँग सहकार्य गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले केही दिन अघि महेन्द्रनगरस्थित आँखा अस्पतालको निरीक्षण गरी सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

भीमदत्त नगरपालिकाका नगर कार्यपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारकाको उपचारका लागि आँखा अस्पतालसित सहकार्य गर्ने निर्णय गरिएको जानकारी दिनु भएको छ ।

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले आँखा अस्पतालसित सहकार्य गरी आँखा शिविर सञ्चालन गरेको छ । कार्यपालिका बैठकबाट लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७ र संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ पारित गरिएको छ ।

यसै गरी अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्र वितरण कार्यविधि २०७५, बाल अधिकार संरक्षण तथा संवर्द्धन सम्बन्धी कार्य सञ्चालन कार्यविधि २०७५ र भीमदत्त नगरपालिका नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४ को पहिलो संशोधन गरिएको छ ।

नगर कार्यपालिकाका प्रवक्ता चन्दले नगरपालिकाको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button