काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थ आयात

भद्रपुर, झापा । झापाको पूर्वी नाका काँकडभिट्टाबाट चार महिनापछि पेट्रोलियम पदार्थ आयात भएको छ ।
यसै सातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष नवीन कोइरालाले चालक तथा सह चालकको कोरोना परीक्षण रिपोर्टका आधारमा भारतीय आयल निगमले तेल उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।
आयात रोकिएको चार महिनापछि अहिले ट्रायलका रूपमा मात्रै पेट्रोलियम आयात भइरहेको उहाँको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै भारतको पश्चिम बङ्गाल राज्य सरकारले नेपालमा लक डाउन सुरु भएपछि पेट्रोलियम पदार्थ पठाउन प्रतिबन्ध लगाएको थियो ।
भारतीय आयल कर्पोरेसनले चार महिनापछि नेपाली ट्याङ्करका चालक र सह चालकको कोरोना जाँच रिपोर्टका आधारमा अहिले पेट्रोलियम पदार्थ उपलब्ध गराउन थालेको मेची भन्सार कार्यालय प्रमुख ध्रुवकुमार विश्वकर्माले बताउनुभयो ।
पश्चिम बङ्गालबाट पेट्रोलियम आयात ठप्प भएपछि मेची भन्सार कार्यालयले दैनिक दुई करोड रुपैयाँ राजस्व पनि गुमाउँदै आएको थियो ।
काँकडभिट्टाबाट रोकिँदा व्यवसायीले अमलेखगन्जबाट पेट्रोलियम ढुवानी गर्दै आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्