तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा रासायनिक मलको अभाव

सल्यान । सल्यानमा रासायनिक मलको अभाव हुँदा किसानहरू समस्यामा परेका छन् । धान गोडमेल गरेर मल छर्ने समयमा नै जिल्लामा रासायनिक मलको अभाव देखिएको हो ।

मल अभावकै कारण उत्पादन घट्ने चिन्ता किसानहरूले गरेका छन् । जिल्लामा पर्याप्त मात्रामा रासायनिक मल नभएपछि कृषकहरू समस्यामा परेका छन् ।

रासायनिक मलको आपूर्ति र बिक्री वितरण गर्दै आएको साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले माग अनुसार जिल्लामा मल आपूर्ति गर्न नसक्दा रासायनिक मलको अभाव भएको छ ।

साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड सल्यानले युरिया मलको अभाव भएको तर डिएपीलगायत अन्य मल उपलब्ध रहेको कार्यालयका प्रमुख प्रविण जङ्ग शाहले बताउनुभयो । सल्यानमा मात्र नभएर देशभर युरिया मलको अभाव रहेको उहाँको भनाई छ ।

कोरोना भाइरसका कारण बन्दाबन्दी हुँदा भारतबाट रासायनिक मल ढुवानीमा समस्या रहेको शाहले बताउनुभयो ।

जिल्लामा मल आउन अझै केही समय लाग्ने साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड लिमिटेडले जनाएको छ । जिल्लामा वार्षिक १५ देखि २० हजार क्विन्टल रासायनिक मल खपत हुने गरेको छ । हिउँदको समय भन्दा वर्षाको समयमा रासायनिक मल बढी खपत हुने गरेको शाहले बताउनुभयो ।

जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ मा धान सात हजार ७८, मकै १९ हजार तीन सय ३५, गहुँ १४ हजार दुई सय १७, कोदो छ सय ७५, तरकारी तीन हजार दुई सय दुई हेक्टर क्षेत्रफलमा अन्नबाली तथा तरकारी खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा युरिया सात सय ७७ मेट्रिक टन, डि.ए.पि. तीन सय ४७ मेट्रिक टन, पोटास २३ मेटिक्टन र जैविक/ प्राङ्गारिक मल पाँच मेट्रिक टन मल खपत भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button