तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने पसल तथा व्यावसायी कारवाहीमा

बाँके । कोरोना संक्रमण बाट बच्नका लागि सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगञ्जका ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले दुईवटा अनुगमन टोली बनाएर अनुगमनमा खटाएको छ ।

सामाजिक दुरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोबार गर्ने व्यवसायीलाई कारवाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार ७७ वटा पसल तथा व्यवसायीलाई जनही सय रुपैयाँका दरले जरिबाना गरिएको छ ।

बाँकेमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै गएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नेपालगञ्जमा संक्रमितको संख्या बढ्दै गएकाले उच्च सावधानी अपनाउनुको साटो लापरवाही गर्ने क्रम बढ्दै जाँदा कडाइ गरिएको बताउनुभयो ।

साउन १७ गतेदेखि बाँकेमा लागु गरिएको निषेधाज्ञा शनिवारदेखि हटाइने भएपनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने थप कडाइ गरेर लैजाने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button