लिदी पहिरो अपडेटः ७ जनाको शव भेटियो, ३१ बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज विहान खसेको पहिरोमा परि मृत्यु भएका ७ जनाको शव फेला परेको छ भने अझै ३१ बेपत्ता छन् ।
पहिरोले ३५ घर ध्वस्त भएको र १४ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएको ७ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो । घाइतेहरुको उद्दार कार्य जारी छ । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको उहाँले बताउनुभयो ।
पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यमु ल्हामुको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ । रुप बहादुर दोङ, जुनुमाया दोङ, केवलीङ दोङ र पासाङ दोङको चौतारामा उपचार भइरहेको महर्जनले बताउनुभयो ।
नेपाली सेना,प्रहरी र स्थानीयले खोजीकार्य गरेका छन् । पहिरोबाट विस्थापितहरुलाई आवश्यक खाद्यान्न लगायत सामग्री हेलिकप्टर बाट पठाईने गाउँपालिका होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्