सल्यानमा लामो समयदेखि फरार अभियुक्त धमाधम पक्राउ पर्दै

सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ का ६६ वर्षीय इन्द्रे कामी कर्तव्य ज्यान गरेको २२ वर्षपछि पक्राउ परे । २०५५ साल सात महिना ५ गते तिहारको भाइटिकाको दिन निगालचुलाकै २२ वर्षीय मनबहादुर कामीलाई बन्चरो प्रहार गरी फरार रहेका थिए ।
२२ वर्षपछि साउन २५ गते प्रहरीले फरार भनिएका कामीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका–१ बाट पक्राउ गर्यो । अहिले उनी कारागारमा कैद भुक्तान गरी रहेका छन् ।
यस्तै कुमाख गाउँपालिका वडा न ६ बडागाउँका ३९ वर्षीय प्रेमबहादुर वलीलाई पनि यही साउन २२ गते घरबाटै प्रहरीले पक्राउ गर्यो । एक दशक अघि जबरजस्ती करणी गरी फरार रहेका वली पाँच वर्ष कैद भुक्तानका लागि उनलाई कारागार चलान गरेको छ ।
कर्तव्य ज्यानका फरार रहेका शारदा नगरपालिका–४ का शेरबहादुर बस्नेतलाई साउन ११ गते पक्राउ गरेको छ । अदालतले एक वर्ष छ महिना कैद तोकेका पाँच वर्षपछि पक्राउ परेका हुन् ।
सल्यान प्रहरीले कर्तव्य ज्यान, जबरजस्ती करणीलगायत मुद्दामा फरार रहेकालाई पक्राउ गरेका ती केही घटना प्रतिनिधि घटना हुन ।
प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विशेष सक्रियता बढाएपछि विभिन्न घटनामा संलग्न भई फराररहेका अपराधीहरू धमाधम पक्राउ परि रहेका छन् । सल्यानमा पछिल्लो समय प्रहरीले फरार सूचीमा रहेका अभियुक्तको खोजीलाई तीव्र बनाएको छ ।
अभियान नै सञ्चालन गरी साउन महिनामा मात्र जिल्लामा एक सय दुई जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताउनुभयो । लकडाउनको अवधिलाई सदुपयोग गर्दै फरार अभियुक्त खोजी कार्य तीव्र पारिएको उहाँको भनाई छ ।
लामो समयदेखि फरार सूचीमा रहेका व्यक्तिहरू पछिल्लो समय धमाधम पक्राउ गर्न थालिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जिल्ला अदालत सल्यान र प्रहरीको समन्वयमा अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्दै आइरहेका छौँ ।’
साउन महिनाको बिचमा एक सय तीन जना पक्राउ गरिएको उहाँको भनाई छ । जरिवानाका ७२, कैद १४ र जरिवाना ÷ कैद सजाय पाएका १७ जना पक्राउ गरिएको ढकेन्द्र खतिवडाले बताउनुभयो ।
तीन सय ५५ फरार प्रतिवादी रहेकोमा ३० जनाको मृत्यु, नाम थर फरक परेको ६५, भारतमा ५३, तेस्रो मुलुकमा १४, बेपत्ता नौ बसाई सरी अन्य जिल्ला रहेका ५६ र अन्य २५ जना रहेको उहाँले बताउनुभयो ।
कर्तव्य ज्यान, चोरी, जबरजस्ती करणी, बहुविवाह, सवारी साधन ज्यान लगायतका मुद्दाका अभियुक्त पक्राउ गरिएको उहाँको भनाई छ ।
अदालतबाट अपराधी प्रमाणित भएर पनि लामो समयसम्म कैद तथा जरिवाना भुक्तान नगरी फरार भएका अपराधीलाई पक्राउ गरिएको प्रहरी प्रमुख खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष अभियान सञ्चालन पश्चात् फरार अभियुक्त पक्राउ गर्न सफल भएका छौँ ।
अपराधी प्रमाणित भएर पनि समाजमा खुलेआम हिँडडुल गर्दा समाज नराम्रो प्रभाव पर्ने स्थितिलाई मध्यनजर गरी अभियान सञ्चालन गरेका छौँ ।’ पक्राउ परेका मध्ये केही कारागार चलान भएको र केहीले जरिवाना तिरेर छुटेको उहाँको भनाई छ ।
दोषी व्यक्तिलाई पक्राउ गरी सजायको कठघरामा नल्याउने हो भने दण्डहीनता मौलाउँदै थप अरू घटना हुन सक्ने सम्भावना रहने भएका कारण फरार अपराधी पक्राउ गर्ने अभियान चलाएको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्