तपाईँ सुन्दै हुनुहुन्छः

वर्षासँगै आएको हावाहुरीले मकैबाली नष्ट

सुर्खेत । लगातारको वर्षासंगै आएको हावाहुरीले सुर्खेतका विभिन्न स्थानमा लगाईएको मकैबालीमा क्षति पुर्याएको छ ।

केही दिन यतादेखि परिरहेको अविरल वर्षासंगै आएको हावाहुरीले जिल्लाको चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका एवं वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानमा घोगा लाग्न लागेको मकैबाली नष्ट गरेको हो ।

सोमबार राती पानीसँगै आएको हावाहुरीले खेतमा लगाएको मकैबाली ढलेर सब सोत्तर भएको वीरेन्द्रनगर—१०, का कृषक किरण शर्माले बताउनु भयो ।

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा लगाईएको मकैबाली हावाहुरीले भाँच्चिएर सखाप बनाएको कृषि निर्देशनालय सुर्खेतले जनाएको छ ।

निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले मुख्य खाद्यबाली मकै हावाहुरीले ढलेर सखाप बनाएपछि किसानलाई भोकमरी हुने चिन्ताले सताएको बताउनु भयो ।

उहाँका अनुसार जिल्लामा करिब १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिदै आएको छ । मकैबाली नष्ट भएर उत्पादनमा ह्रास आउने भएपनि बालीबीमा नगरेकाले किसानले क्षतिपूर्ती पाउने अवस्था नरहेको निर्देशनालयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button