चिकित्सकले सेवा बन्द गर्न नपाउने अन्तरीम आदेश

वीरगञ्ज । उच्च अदालत अस्थायी ईजलास वीरगञ्जले स्वास्थ्य संस्थामा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सक समेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन, दिलाउन कुनै पनि बहानामा ईन्कार नगर्नु नगराउनु भनी वीरगञ्जका सम्पुर्ण सरकारी तथा निजी अस्पतालको नाँउमा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ताहरु बिरेन्द्र प्रसाद यादव, रामनारायण प्रसाद कुर्मी तथा निरज कुमार गुप्ताले संयुक्त रुपमा दायर गर्नु भएको रिटमा सुनुवाई गर्दै उच्च अदालत अस्थायी ईजलास वीरगञ्जका न्यायाधिश बिरबहादुर डाँगीको एकल ईजलासले सो आदेश गरेको हो ।
आदेशमा नेपालमा समेत महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित व्यक्ति बाहेक अन्य रोगबाट ग्रसित व्यक्तिलाई कोरोना भाईरसको परीक्षण नै नगरी निज कोरोना भाईरसबाट संक्रमित भएको भनि अनुमान गरी उपचार नै नगर्ने हो भने अन्य प्राणघातक रोगको उपचार नपाई मृत्यु समेत हुन गई अपुरणीय क्षति समेत हुन सक्ने हुँदा निवेदकहरुको माग बमोजिम स्वास्थ्य संस्थामा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सक समेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन भनिएको छ ।
साथै आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा छलफलका लागी यही भाद्र ८ गते उपस्थित हुन निवेदक तथा विपक्षीहरुलाई समेत भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौ, मुख्यमन्त्रीको कार्यालय प्रदेश २, जिल्ला प्रशासन कार्यलय पर्सा तथा वीरगञ्जका निजी अस्पतालहरुलाई विपक्षी बनाई परेको सो रिट निवेदनमा अधिवक्ताहरु बिरेन्द्र प्रसाद यादव, रामनारायण प्रसाद कुर्मी, निरज कुमार गुप्ता तथा अधिवक्ता रामबली प्रसाद चौहान लगायतले बहस गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्