तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा बाढीले २७ घरसहित  आठ पुल बगायो

बाजुरा  । जिल्लामा हिजो रातिदेखि निरन्तर परेको अविरल वर्षासँगैको बाढी र पहिरोले २७ घर बगाएको छ भने जनजीवन प्रभावित भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा गए राति आएको अविरल वर्षासँगै बुढिगंगा नदीमा आएको बाढीले बगाउँदा एक जना महिला पनि बेपत्ता भएकी छन् ।

बाढी र पहिरोका कारण दुई सय बढी जनसङ्ख्या विस्थापित बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको र उद्धार कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनु भएको छ ।

विभिन्न बस्तीमा बाढी र कटानसँगै पहिरो जाँदा ठुलो क्षति भएको हो । पहिरोका कारण बडिमालिका– २ घाग्रकी ५५ वर्षिया आउँसी देवी महत बेपत्ता भएकी छन् ।

गए रातिदेखिको बाढीले एक बेली ब्रीजसहित सात वटा झोलुङ्गे पुल समेत बगाएको छ । गौमुुल गाउँपालिका– १ सिम गाउँका आठ घर बडिमालिका नगरपालिका वडा नं –२ का १३ वडा न.६का ६ वटा घर गरी २७ वटा घर बाढी र पहिरोले बगाउँदा दुई सयभन्दा बढी जनसङ्ख्या अलपत्र परेका छन्।

अझै बाढी नरोकिएकोले उद्धार कार्य जारी रहेको छ । सयौँ हेक्टर खेतीयोग्य जमिनसमेत बगाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीय उद्धारमा हिजो रातिदेखि खटिरहेका छन्।

साफे–मार्तडी सडक खण्डमा पर्ने जडाङ्गाको बेली ब्रिज बगाएको छ । साफे मार्तडी सडक अन्तरगत बुढिगंगा नदीमा बनाएको बेलिबिज्र आइतबार राति वर्षाले बगाएको र अब सदरमुकाम आवतजावत गर्ने बाटो नै बन्द भएको प्रहरीले जनाएको छ ।

त्योसँगै बुढिगंगा नदीको बहाव निकै बढेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button