सिन्धुपाल्चोकको जुगल र सुनकोसी गाउँपालिकाका दुई वडा सिल
सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा नम्बर ५ र सुनकोसी गाउँपालिका वडा नम्बर ७ आजकै मितिबाट सिल गरिएको छ । आज बसेको जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले अर्को निर्णय नभएसम्मका लागि यी दुई वडा सिल गर्ने निर्णय गरेको हो ।
सो स्थानहरूमा आजबाट मानिसको आवतजावत र सवारी साधनको आवतजावत पूर्णरुपमा बन्द गरिएको छ । त्यहाँका पसल तथा व्यवसाय पनि पुर्णरुपमा बन्द गरिएको छ ।
सुनकोसी गाउँपालिकाको जिरि जाने सडकको उत्तर तर्फ १ किमीदेखि लप्सेखोलासम्म, पश्चिममा १ किमीदेखि २ किमीसम्म, पूर्वमा उक्त स्थानको लप्सेखोलासम्म र दक्षिणतर्फ पितामे टोलसम्मको चार किमी भित्र सिल गरिएको छ ।
जुगलमा सल्यानबाट आएका दुई शिक्षकमा कोरोना संक्रमण देखिएको थियो भने सुनकोसीमा जामुने घर भएका ३५ वर्षीय एक प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।
शिक्षक र प्रहरीले स्थानीय धेरै जनासँग सम्पर्क, भेटघाट गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट नआउन्जेलसम्म आजकै मितिबाट दुवै ठाउँमा सिल गरिएको हो ।
सुनकोसी गाउँपालिका ७ जामुनेका स्थानीयको कन्ट्याक्ट ट्रेसिङ गरी आज बाट स्वाब सङ्कलन गरिएको छ भने जुगल वडा नम्बर ५ को पनि गर्ने तयारी भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्