बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु
बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया पशुपति बोहरा र उहाँका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।
बिहीबार राती १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतीरहेका आमा छोराको मृत्यु भएको उहाँले बताउनुभयो । १६ वर्षीय सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिनुभयो ।
घरभित्र पुरिएका दुवै जनाको शव निकालेर पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।
मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन् । घरमाथिबाट खसेको पहिरोले आमा छोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्