पाँच विधेयक समितिमा, तीन प्रतिवेदन पेश
तुलसी सापकोटा । प्रतिनिधि सभाको आजको बैठकले विभिन्न पाँच वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकले प्रमाण दोस्रो संशोधन विधेयक, विरुवा संरक्षण पहिलो संशोधन विधेयक, विउ विजन दोस्रो संशोधन विधेयक, राष्ट्रिय खेलकुद विकास विधेयक र खानेपानी तथा सरसफाई विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।
यस्तै बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्यव्यवस्था तथा सुशासन समितिको तीनवटा प्रतिवेदन पेश भएका छन् ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नु भयो ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठको तर्फबाट सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन र असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुवानबाट प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६ वैठकमा पेश गर्नु भयो ।
यसअघि बैठकमा सांसदहरुले बाढी पहिरोको समस्या समाधानका लागि दिगो उपायको खोजी गर्नुपर्ने, अवैधानिक रुपमा भैरहेको बालुवा उत्खनन् कार्य रोक्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले द्वन्द्वकालमा नेपाली सेना छोडेर माओवादी सेनामा भर्ना भएकाहरुलाई नेपाली सेनाले कार्वाही शुरु गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउदै नेपाली सेनाको कसुर सम्बन्धी सैनिक ऐन संशोधन गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक यही भदौ ३ गते मंगलबार दिउसो १ वजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्