घुम्ती कक्षा प्रभावकारी बन्दै
रुपन्देही । कोरोनाका कारण लामो समयसम्म पठनपाठन ठप्प भएपछि रूपन्देहीका सामुदायिक विद्यालयले शुरु गरेको घुम्ती कक्षा प्रभावकारी बन्दै गएको छ ।
संक्रमणको त्रासका कारण अझै पनि विद्यालयमा पठनपाठन सुरु हुन सकेका छैनन् । सरकारले गत १८ जेठमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी गरी १ असारदेखि केही स्थानीय तहले घुम्ती कक्षा सञ्चालन गरेका हुन् ।
सरकारले भदौ १ गतेबाट मात्र भर्ना अभियान सुरु गर्ने बताएको छ । सामुदायिक विद्यालयका अधिकांश भवन अहिले पनि क्वारेन्टाइन बनेका छन् । संक्रमितको संख्या घट्दै गएपछि क्वारेन्टाइन पनि खाली हुँदै गएका छन् ।
घुम्ती कक्षा संचालन गरेपछि विद्यार्थीहरु खुसी भएर पढ्न थालेका छन् । कक्षा ९ की छात्रा अनुस्का ढकालले स्कुल गएर साथीभाइसंग खेल्दै पढ्न नपाएपनि घुम्ती शिक्षाले पढ्न सजिलो भएको बताउनुभयो ।
विद्यालयका शिक्षकहरु पालैपालो विभिन्न टोलमा पुगेर भौतिक दुरी कायम गरी सबैले मास्क लगाउन लगाएर विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् ।
कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई क्लबका भवन, मन्दिर, चौतारी, खुल्लाचौर, व्यक्तिका घरका आँगन लगायतका स्थानमा भौतिक दूरी कायम गरी अध्यापन गराइएको शिक्षक विन्दु काफ्ले घिमिरेले बताउनुभयो ।
अनलाइन कक्षा सञ्चालन गर्दा सबै विद्यार्थीसामु इन्टरनेट, मोबाइल, कम्प्युटर तथा ल्यापटपको उपलब्धता नहुने भएकाले टोलटोलमा पुगेर पढाइने घुम्ती कक्षा प्रभावकारी बनेको शिक्षा पत्रकार समूहका उपाध्यक्ष कृष्ण मल्लले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले शुरु गरेको यो अभियानलाई संस्थागत विद्यालयले पनि शुरु गर्न आवश्यक रहेको बताउनुभयो ।
रुपन्देहीमा मात्र नभएर प्रदेश ५ का धेरै सामुदायिक विद्यालयले संचालन गरेको घुम्ती कक्षा प्रभावकारी बनेको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । प्रदेश सरकारले घुम्ती कक्षा संचालनका लागि सामुदायिक विद्यालयलाई आग्रह गरेको मन्त्री बरालले बताउनुभयो ।
नयाँ शैक्षिक सत्रको शुरुवातअघि नै कोरोना महामारीको सन्त्रासले बन्द भएको शैक्षिक कार्यक्रमलाई घुम्ती कक्षाले केही राहत दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्