तपाईँ सुन्दै हुनुहुन्छः

जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने

पोखरा  । सरकारले आज देखि लागु गरेको सवारी साधनमा जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा भने लागु नहुने भएको छ । दुई सय भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सरकारले आजदेखि जोर बिजोर प्रणाली लागु गरेकोमा गण्डकी प्रदेशका कुनै पनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नभएका कारण यस प्रदेशमा जोर बिजोर प्रणाली लागु गर्न नपर्ने भएको हो ।

सरकारले जोर दिन जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन मात्र चलाउन दिने र दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६६ पुगेको छ ।

कोरोना अस्पतालको आइसोलेसन भरियो
पोखरा । गण्डकी प्रदेशको सबैभन्दा बढी क्षमतायुक्त पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको अस्पतालमा तयार गरिएको आइसोलेसनमा दिनहुँ कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि समस्या भएको छ । आइसोलेसन सङ्क्रमितले भरिएपछि थप कोरोना सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखेर उपचार गर्न गाह्रो भएको हो । कास्की र कास्कीभित्रका अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना सङ्क्रमण भेटिएपछि थप उपचारका लागि यस अस्पतालमा ल्याइने गरिएको छ ।

गण्डकीमा कोरोना सङ्क्रमित बिरामीको गम्भीर स्थिति देखिएमा उपचार गर्ने यो एक मात्र अस्पताल पनि हो । यहाँ पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढिरहँदा अस्पतालमा चाप छ ।

अस्पतालमा ४० जना सङ्क्रमितको क्षमता हुने गरी शय्या तयार गरिएको छ । मङ्गलवार सम्म ३२ सङ्क्रमित रहेको आइसोलेसनमा बुधवार कास्की जिल्लामा मात्रै १० सङ्क्रमित थपिएका छन् । तीमध्ये अस्पतालको आइसोलेसनमा २ जना ल्याइएका छन् भने बाँकी ७ जना ’लेकसिटी’को क्वारेन्टिनमा नै छन् । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बेड अभावका कारण सङ्क्रमित ७ जनालाई क्वारेन्टिन मा नै आइसोलेसन बनाएर राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button