तपाईँ सुन्दै हुनुहुन्छः

विस्थापितका पीडा ‘बाली भित्र्याउन पाइएन’

म्याग्दी-पहिरोले म्याग्दीको धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई मानवविहीन बनाएको छ । गाउँमाथिको माख्लाको भिरबाट खसेको पहिरोको जोखिमका कारण कल्लेनीका बासिन्दाले गाउँ छाडेका हुन् । गतअसार २७ गते घर छोडेर शिवाङको हेम माविमा गएर बसेका कल्लेनीवासी अझै गाउँ फर्कन नसकेको स्थानीय रत्नप्रसाद पुनले जानकारी दिनुभयो ।

गत असार २६ गते बिहान पहिरो खसेपछि विस्थापित भएका कल्लेनीवासीलाई धौलागिरि गाउँपालिकाले हेम माविको भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएको हो । अट्ठाइस परिवारका ५० जनाभन्दा बढी करिब एक महिनादेखि विद्यालय भवनमा सामूहिकरुपमा बस्दै आएका छन् ।

पाँच परिवार विद्यालयबाट ताकममा रहेका आफन्तकहाँ सरेका पहिरो पीडितको अगुवाइ गरेका डिके पुनले बताउनुभयो । पहिरोले गाउँ फर्कने अवस्था नभएपछि घरमा पालिएका बाख्रा, कुखुरा, गाई, भैँसी बेचेका छन् । पाकेको मकैबाली भित्र्याउन र बारीमा लगाएको कोदो गोड्न नपाएको स्थानीय भेष पुनले बताउनुभयो ।

घासपानी दिन जान नसकेपछि हलगोरु बारीमा छाडेको उहाँले जानकारी दिनुभयो । शिवाङदेखि कल्लेनी पुग्न डेढ घण्टा हिँड्नुपर्छ । खानेपानी आयोजनाको संरचना पहिरोले बताएको छ । पहिरो खस्ने क्रम रोकिएको छैन् । गाउँमा जाने र निस्कने नाकाको बाटो पहिरोले भत्काएको छ । जान आउन जोखिम मोल्नुपर्छ । घर पहिरोले पुरिएपछि बहिनीकहाँ आश्रय लिएर बसेको कल्लेनीकी कमला घर्तीले बताउनुभयो । पहिरोमा पुरिएर घर्तीकी सानीआमा जानीमा बेपत्ता र भाइ प्रकाश केसीको मृत्यु भएको थियो ।

प्रकाशको घरमा सुत्न गएका सविन पुन बेपत्ता छन् । परदेवी पुन र वीरबहादुर पुनको घर पहिरोले बगाएको थियो । एक सय रोपनीभन्दा बढी धानखेत, कोदोबारी र सुन्तला बगैँचा पहिरोले बगर बनाएको छ । मगर समुदायको बाहुल्य बसोबास भएको कल्लेनी साविक मराङ गाविसको ३ नम्बर वडामा पर्छ । सडक, विद्युत् सुविधा पुगेको थियो ।

घरघरमा खानेपानी सुविधा थियो । सुन्तला खेतीलाई विस्तार गरेर आयआर्जनको माध्यम बनाउन थालेका थिए । दीर्घकालीन बसोबासका लागि गाउँमै फर्कने अथवा अन्यत्र बसाइँसराइ गर्ने भन्नेमा कल्लेनीवासी अन्यौलमा छन् ।

पहिरोका कारण धौलागिरि गाउँपालिकाको ६ नम्बर वडामा पर्ने कल्लेनी, राम्चे, रिख, कुम्री र ठूलोगाउँमा १९ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । करिब ४० वटा घर भत्किएका छन् । दुई सयभन्दा बढी परिवार घर जोखिममा परेकाले विस्थापित भएका छन् । पूरै वडा पहिरोले चिरा, चिरा बनाएको वडाध्यक्ष राजाराम सुवेदी बताउनुभयो ।

पहिरोबाट घरबास गुमाएका र जोखिममा परेका विद्यालय, सामुदायिक भवन र टहरा बनाएर बसेका छन् । पहिरोले मराङ, धारापानी, ताकम र काफलडाँडाको बस्ती प्रभावित बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button