तपाईँ सुन्दै हुनुहुन्छः

झापुटार–चालिसे सडक अवरुद्ध

तनहुँ-तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो । पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ–४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश ठाउँको पहिरा हटाइसकिएको र अब एक ठाउँको मात्रै पहिरा हटाउन बाँकी छ । ऋषिङ–२ डाँडाखुँदीको उकालोको पहिरा हटाएर एक÷दुई दिनमा नै चालिसेसम्मको बाटो सफा गरिने अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । तीन सातादेखि पहिराले सडक अवरुद्ध हुँदा सवारीमार्फत गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ तर पैदल हिँड्नका लागि भने कुनै समस्या छैन ।

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो ।

जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button