‘भारतमा सङ्क्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अपनाउनुपर्ने’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले भारतमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआउँदासम्म नेपालमा सङ्क्रमण फैलने जोखिम कायमै रहने बताउनुभएको छ ।
मन्त्रालयले आज काठमाडौँमा गरेको सञ्चारकर्मीहरूसँगको छलफलमा मन्त्री ढकालले भारतमा सङ्क्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
सरकारले सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको भए पनि सीमावर्ती भारतीय सहरमा सङ्क्रमणको दर बढ्दै गएपछि नेपालमा पनि त्यसको प्रभाव परेको र पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको बताउनुभयो ।
मन्त्री ढकालले सङ्क्रमण नियन्त्रणका लागि उच्च जोखिममा रहेका स्थानहरूमा पुनः लकडाउन गर्नुपर्ने भए पनि पहिले जस्तो एकैसाथ देशभरिको लकडाउन नहुने समेत स्पष्ट पार्नुभयो ।
मन्त्री ढकालले जात्रा, पर्व र धार्मिक कार्यक्रममा मानिसहरू भेला हुने र जनस्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना नगर्ने प्रवृत्ति बढ्दै गए ठुलो दुर्घटना हुने सक्ने तर्फ सचेत हुन सबैसँग आग्रह समेत गर्नुभयो ।
उहाँले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि मन्त्रालयले गरेको सम्पूर्ण खरिद प्रक्रिया तथा खर्चहरू पारदर्शी रहेको र आवश्यकता अनुसार सार्वजनिक गर्न समेत तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले सरकारी प्रयोगशालाहरूमा दैनिक १८ हजारभन्दा बढी र निजी क्षेत्रका प्रयोगशालाहरूमा दैनिक भण्डै तीन हजार नमुना परीक्षण गर्न सक्ने गरी क्षमता बिस्तार भएको र विदेशबाट फर्कने सबैको परीक्षण गर्ने नीति लिएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीलगायतका नयाँ प्रविधिहरूको प्रयोगका लागि समेत अस्पतालको क्षमता बिस्तार तथा थप अध्ययनको काम भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्