तपाईँ सुन्दै हुनुहुन्छः

एसिड आक्रमणका पीडितलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सङ्घीय संसद्को महिला तथा सामाजिक समितिले एसिड आक्रमणका पीडितहरूलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

एसिड आक्रमण, पीडितको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले एसिड आक्रमणका पीडितहरूले नियमित औषधि उपचार गर्न नसकेको पाइएको भन्दै पीडितहरूलाई स्वास्थ्य उपचारको खर्च तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले एसिडको खरिद बिक्रीलाई व्यवस्थित गर्न, पिडकलाई कडा कानुनको व्यवस्था गर्ने गरी कानुन संशोधनको प्रक्रिया थाल्न, उत्पीडनका उजुरीलाई प्राथमिकता दिन र पीडितलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्न तथा पीडितको जीविकोपार्जनमा सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा एसिड आक्रमणका पीडितहरूले पिडकहरूलाई कानुनको दायरामा ल्याई कडा सजाय दिन र आफूहरूको शिक्षा, स्वास्थ्य, उपचार र रोजगारीको हकको सुनिश्चितता गरिदिन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button