तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमित दुई भारतीय व्यापारी सम्पर्कविहीन

रुपन्देही । रुपन्देहीको बुटवलमा भारतबाट आएर व्यापार गरेका दुई जना व्यापारी कोरोना संक्रमण भएको पुष्टि भएपछि सम्पर्कविहीन बनेका छन् । दुई दिनसम्म उनीहरु सम्पर्कमा आएका छैनन् ।

लकडाउनको समयमा भारत गएका उनीहरु केहीदिन अगाडि फर्केका थिए । बुटवलको हाटबजारमा व्यवसाय गर्नेहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै गई शुल्क तिरेर स्वाब परीक्षण गराएका थिए । परिक्षणमा कोरोना पोजेटिभ भेटिएपछि उनीहरु सम्पर्कविहीन भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

उनीहरुको खोजीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जानकारी गराइएको अस्पतालले जनाएको छ ।

खुला सिमानाका कारण भारतबाट आउने व्यवसायी तथा मजदुरबाट संक्रमण बढेकाले सिमानामा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताउनुभयो । उहाँले सबै व्यवसायीलाई भारतीय मजदुर ल्याउदा स्वीकृत गर्न र अनिवार्य चेकजाँच गराउन आग्रह गर्नुभयो ।

यता वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँगै बसेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा होम क्वारेन्टिनमा बस्नुभएकोे छ । उहाँहरु नगर विकास कोषको काठमाडौंमा सम्पन्न कार्यक्रममा संगै बस्नुभएको थियोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button