तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङमा डेंगुको सङ्क्रमण बढ्दै

लमजुङ । लमजुङमा डेंगु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्ला सदरमुकाम बेसीशहरमै थप तीनसहित चार जनामा डेंगु रोगको सङ्क्रमण भेटिएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम जारी रहेकै बेला डेंगुको सङ्क्रमण पनि देखिन थालेको हो । केहिदिन अघि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि आएकी बेसीशहर–७, की एक महिलामा डेंगु रोगको सङ्क्रमण भेटिएको थियो ।

हाल बेसीशहरकै थप तिन जनामा पनि डेंगुको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बेसीशहर–३, ८ र ९ का तिन जनामा डेंगु रोगको सङ्क्रमण भेटिएको हो ।

बिरामी भएर अस्पतालमा आएका तिन जनामा उपचारको क्रममा डेंगु रोगको सङ्क्रमण भेटिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष मात्रै जिल्लामा डेंगुको सङ्क्रमण बढ्न थालेपछि लमजुङ जिल्ला सामुदायिक अस्पतालले डेंगु परीक्षण गर्न सक्ने किट ल्याएको थियो । सोही किटबाट सजलै डेंगु परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट डेँगु रोगको जोखिम हुने र जिल्ला भित्र डेंगुको सङ्क्रमण बढ्दै गएकोले यसको रोकथामको लागि आम समुदाय सचेत हुनुपर्ने भन्दै उच्च सतर्कता अपनाउन स्वास्थ्य कार्यालय लमजुङले सर्वसाधारणलाई आग्रह पनि गरेको छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । विशेष गरी बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने चिकित्सकहरूको भनाई छ ।

डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सके पनि डेंगु रोगको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

नेपालमा सन २००४ मा पहिलो पटक चितवनमा डेंगुको सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button