अर्जुनधाराका सङ्क्रमितको छिमेकका घर सिल
भद्रपुर, झापा । काठमाडौँबाट झापाको गृहनगर अर्जुनधारा आएका स्थानीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय समुदायमा त्रास बढेको छ । उहाँ विदेशबाट आएको व्यक्ति होइन ।
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलका अनुसार काठमाडौंबाट घर आउने क्रममा स्वाव परीक्षण गर्दा उहाँमा सङ्क्रमण देखिएको थियो । वडा नं. २ का उहाँमा कोरोना संक्रमण देखिएपछि सम’दायमा कोरोना फैलिएको आशंका गरिएको छ ।
नगरपालिकाले ती संक्रमितलाई उपचारका लागि कोभिड हस्पिटल पठाएको छ भने उहाँका छिमेकीका घरहरु समेत सिल गर्दै पाँच दिनसम्म कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
पाँच दिनपछि छिमेकका सबैको स्वाब परीक्षण गर्ने नगरपालिकाको तयारी रहेको भूर्तेलले बताउनुभयो । नगरपालिकाले नगरभरि माइकिङ गर्दै नगरवासीलाई मास्क लगाउन र सामाजिक दूरी राख्न अपिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्